परिचय

महालेखा नियन्त्रक कार्यालय

परिचय

प्रारम्भिक दिन

इतिहासको कुनै कालखण्डमा अरूको अधीनस्थ नभई स्वतन्त्र देश रहेर पनि नेपालमा वि.सं. २००७ सालमा आएर मात्र प्रजातन्त्रको अभ्युदय भएको हो । २००७ सालको क्रान्तिले १०४ वर्षे जहानियाँ राणा शासन सत्ता अन्त्य गरिदियो। तत्श्चात नेपालको विकासको कुरा सोच्न थालियो र सरकारको आर्थिक हिसाब किताब व्यवस्थित बनाउने विचार पनि सँगै आएको हो ।

प्रजातन्त्र पछिको एकै वर्षभित्र वि.सं. २००८ साल पुस १ गते नेपाल अधिराज्यको अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्न महालेखापाल कार्यालयको स्थापना भयो । स्थापना कालको त्यस समयमा वर्तमान महालेखा परीक्षकले गरी आएको सबैजसो काम यसै कार्यालयले गर्ने गरेको थियो । त्यसबेला यो कार्यालय कुनै मन्त्रालयको मातहतमा थिएन । यसबाट यस कार्यालयको अस्तित्व स्वतन्त्र मानिएको देखिन्छ । वि.सं. २०१६ सालमा यस कार्यालयलाई अर्थ मन्त्रालय मातहतमा राखियो तापनि यस कार्यालयले आफ्नो कार्य स्वतन्त्र रूपमै गरिरहेको पाइन्छ । वि.सं. २०१८।०४।०५ मा लेखा परीक्षण ऐन जारी भएपछि भने यस कार्यालयको काममा निकै परिवर्तन भयो । 

वि.सं. २००८ सालमा महालेखापालको कार्यालयको रुपमा स्थापना भएको र वि.सं. २०३२ सालमा महालेखा नियन्त्रक कार्यालयका नाममा रुपान्तरित भई निरन्तर तोकिएका जिम्मेवारीहरु बहन गर्दै आएको छ । केन्द्रीय, चौमासिक तथा कोषपूर्ति निकासा हुँदै वेभमा आधारित एकल खाता कोष प्रणालीको कार्यान्वयनबाट सूचना प्रविधि प्रयोग गर्ने मुलुककै अग्रणी संस्थाको रुपमा रहेको छ ।

नेपाल सरकारको विशिष्ट श्रेणीका पदाधिकारीले नेतृत्व गरेको यो कार्यालय अन्तर्गत वि.सं. २०३८ सालबाट प्रतिनिधि कार्यालयका रुपमा ७७ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरु स्थापना गरी तोकिएको जिम्मेवारी बहन गर्दै आइएको छ । हाल ७७ जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरू (काठमाण्डौंमा थप ४ भुक्तानी केन्द्र समेत ८१ वटा कार्यालय), निवृत्तभरण व्यवस्थापन कार्यालय – १ र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालय – १ रहेका छन् ।